विराटचोक — नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको सुन्दहरैँचामा विभिन्न आयोजनाहरुको शिलान्यास गरेका छन्। ओलीले बिहिबार  सुन्दहरैँचा-७ स्थित गोठगाउँमा एक भव्य समारोहका बीच  चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडकखण्ड र महेश्वर सुब्बा मार्ग -लाटीझोडा आयोजनाहरुको शिलान्यास गरेका हुन् ।

विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत हुने उक्त आयोजनाहरु सुन्दरहरैँचा नगरपालिका भित्र सञ्चालन हुने नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए ।

उक्त आयोजनाको लागि मकवानपुरको लामा – बानिया जेभीयर्स र सुन्दहरैँचा नगरपालिका बीच गत बैशाख १० गते ३५ करोड ८५ लाख २३ हजार ६ सय ६९ रुपैयामा ठेक्का सम्झौता  भइसकेको छ। उक्त आयोजना  अन्तर्गत चन्दनगर -विश्वविद्यालय गोठगाउ सडक खण्ड ४ किलोमिटर ७ सय सैतीस मीटर र महेश्वर सुब्बा मार्ग -लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटर सडक निर्माण हुनेछ।

वडा नं. ६, ७ र ८ मा सञ्चालन हुने आयोजना अन्तर्गत डवल लेनको बाटो,दुवै तर्फ सडक बत्ती,दुवै तर्फ फुटपाट दुवै तर्फ पक्की ड्रेन हुने नगरपालिकाले गरेको सम्झौतामा उल्लेख गरिएको छ। यस्तै,८ वटा पाइप कल्भट र १४ वटा बक्स कल्भटका साथै,सम्पूर्ण ट्राफिक सिगनल  सहित सडक कालोपत्रे हुनेछ। आयोजना २०८२ जेठ ३२ गते भित्रमा सम्पन्न हुने बताइएको छ ।