धरान - वरिष्ठ गायक तथा सारङ्गी बादक सुरेश गन्धर्वको घरको लागि तीनवटा काठको तयारी ढोका जुटेकोछ । उपलब्ध ढोकाहरु सोमबार गन्धर्व परिवारलाई हस्तान्तरण गरिएकोछ ।
“रिङ्केबुङको राँगालाई चुङ्केबुङको चुलेसीले चर्चित गीतका गायक गन्धर्व करिव पाँच वर्षदेखि दुबै मृगौला र मुटु रोगी छन् । २०१२ सालमा भोजपुरमा जन्मिएर भारतको कालेबुङ, दार्जिलिङ र २०४९ सालदेखि धरानमा बसोवास गर्दै आएका गन्धर्वलाई धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले धरान ८ सभागृहमार्ग नमुना वस्तीमा सात धुर जग्गा उपलब्ध गराएपछि दाताहरुको सहयोगमा घर निर्माण गरिएको थियो ।
तीनवटा ढोकाहरु धरान वडा नम्बर २ का अध्यक्ष रमेश राई,युवा व्यवसायीहरु धिरेन राई र दिवस राईले उपलब्ध गराएको हो । एउटा ढोका बरावर ३ हजार ६ सय रुपैया लागत रहेको छ ।
सहयोगका लागि मजदुर नेता भीमज्वाला राई, सञ्चारकर्मी सौरभ श्रेष्ठ र व्यवसायी भूपाल साम्पाङले संयोजन गरिदिनु भएको हो ।
गन्धर्वको घर निर्माण सम्पन्न गर्न अझै रङ्गरोगन, खानेपानी र विद्युत व्यवस्थापन तथा सिँढि निर्माण व्यवस्थापन गर्न बाँकी नै रहेको छोरी तारा गन्धर्वले बताउनु भएकोछ ।
मृगौला र मुटु रोगबाट ग्रसित वरिष्ठ गायक गन्धर्वको घरमा आइतबार मात्रै तीनवटा आल्मुनियम झ्याल लगाइएको थियो ।
२१ हजार लागतमा निर्मित झ्याल रोहित अधिकारी, भूपाल साम्पाङ (न्यु धरान आल्मुनियम सञ्चालक) र दिपक आचार्य काकुको सहयोगमा निर्माण गरिएको हो ।
साथै संगित प्रतिष्ठान धरानको तर्फबाट एउटा सिलिङ पंखा र गायक दिव्यासन घिमिरेको तर्फबाट हटपट सहयोग प्राप्त भएकोछ ।




















