विराटचोक — मोरङको सुन्दरहरैँचामा नगर स्तरिय अन्तर विद्यालय तेक्वान्डो प्रतियोगिता सुरु भएको छ । 

राष्ट्रिय तेक्वान्डो संघ सुन्दरहरैचा नगर समितिको आयोजनामा सुन्दरहरैचा -१० स्थित हिमालय इन्ग्लिश स्कूलको प्रांगणमा आज विहान ७ बजे देखि प्रतियोगिता सुरु भएको हो । 

उक्त प्रतियोगितामा बिहान १० बजे सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यता रहने बताइएको छ ।

प्रतियोगितामा छात्रा तर्फ १८ केजी देखि ५१ केजी तौल र छात्र तर्फ १८ केजी देखि ५८ केजी तौल बीच प्रतिस्पर्धा भइरहेको छ । नगरका  ११ ओटा स्कुलका १ सय ८० जनाबाट छनौट भएका ९ जना छात्रा र ११ जना छात्र खेलाडीहरुबीच प्रतिस्पर्धा भइरहेको राष्ट्रिय तेक्वान्डो संघ सुन्दरहरैचा नगर समितिका अध्यक्ष अर्जुन भुजेलले जानकारी दिए । 

प्रतियोगितामामा पुरस्कृत हुने खेलाडी सहित विद्यालयलाई समेत पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगितामा सबै सहभागी खेलाडीहरुलाई खाजा खाना र अन्य व्यवस्थापनमा हिमालय इंग्लिश स्कूलको सहयोग रहने प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

कार्यक्रममा तेक्वान्डोका वरिष्ठ प्रशिक्षक तथा राष्ट्रिय तेक्वान्डो संघ मोरङको अध्यक्ष इन्द्रबहादुर तामाङको विशेष सहयोग रहेको छ । प्रतियोगिताको नतिजा दिवासत्रको खेल पछि समापन   कार्यक्रम मार्फत घोषणा गरिने आयोजकले जनाएको छ ।