अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीका ६८ वर्षीय पिता जर्ज मेस्सी एक अज्ञात रोगको उपचार गराइरहेका छन्। विश्वकप फुटबल चलिरहेको बेला अर्जेन्टिनामा जर्ज मेस्सीको मृत्यु भएको भन्ने झुटा खबरहरु (अफवाह) फैलिएपछि मेस्सी परिवारले सञ्चारमाध्यमहरुलाई 'मानवीयता', 'जिम्मेवारी' र 'विवेक' देखाउन आग्रह गरेको छ।

मेस्सीको मिडिया कार्यालयमार्फत परिवारले जारी गरेको विज्ञप्तिमा जर्जको रोगबारे खुलाइएको छैन। तर उनी हाल 'चिकित्सकको निगरानीमा रहेको र उनको अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको' जानकारी दिइएको छ। "कुनै पनि व्यक्तिको स्वास्थ्य र तिनका प्रियजनहरूको मानसिक शान्तिलाई लिएर सञ्चारमाध्यमले गैरजिम्मेवारपूर्ण अनुमान लगाउनु हुँदैन," परिवारले स्पष्ट पारेको छ।

यसैबीच, ३९ वर्षीय लियोनल मेस्सीले विश्वकपको पहिलो खेलमा अल्जेरियाविरुद्ध ३-० को जित निकालेपछि आफू 'कठिन व्यक्तिगत परिस्थिति' बाट गुज्रिरहेको खुलासा गरेका छन्। उक्त खेलमा ह्याट्रिक गर्दै विश्वकपमा मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका मेस्सी पहिलो गोल गरेपछि निकै भावुक बनेका थिए। आफ्नो आँसुबारे प्रष्ट पार्दै मेस्सीले भने, "मेरो आँसु फुटबलसँग सम्बन्धित थिएन। मैले केही कठिन दिनहरू बिताइरहेको छु, र ती भावनाहरू त्यसैको कारण थिए"।

हाल मेस्सी क्यान्सास सिटीस्थित अर्जेन्टिनाको बेस क्याम्पमा आफ्ना सहकर्मीहरूसँगै छन् र सोमबार डलासमा अस्ट्रियाविरुद्ध हुने समूह चरणको दोस्रो खेलको तयारी गरिरहेका छन्।

जर्ज मेस्सीले आफ्ना छोराको फुटबल करियरमा सुरुवातदेखि नै एजेन्टको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनले मेस्सीलाई सन् २००० को दशकको सुरुमा ट्रायलको लागि बार्सिलोनाको ला मासिया एकेडेमी पुर्‍याएका थिए। त्यसयता उनले बार्सिलोना, पेरिस सेन्ट-जर्मेन (पीएसजी) र इन्टर मियामीसँगको सम्झौताका साथै मेस्सीको छवि अधिकार (इमेज राइट्स) र रियल स्टेट, होटल तथा रेस्टुरेन्ट लगायतका व्यापारिक लगानीहरु सम्हाल्दै आएका छन्। सन् २०१६ मा कर छलीको आरोपमा मेस्सी र उनका पिता दुवैलाई स्पेनमा दोषी ठहर गरिएको थियो, तर दुई वर्षभन्दा कम सजाय भएकाले उनीहरूले जेल बस्नुपरेको थिएन।

आफ्नो गाह्रो समयमा शुभचिन्तकहरूबाट प्राप्त माया, सम्मान र चासोप्रति मेस्सी परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। साथै, उपचारको यस प्रक्रियामा जर्ज र सम्पूर्ण परिवारको गोपनीयताको सम्मान गरिदिन उनीहरूले सबैलाई अनुरोध गरेका छन्। अवस्थाबारे थप जानकारी आवश्यक परेमा परिवारले नै आधिकारिक रूपमा सूचित गर्ने विज्ञप्तिमा जनाइएको छ।