काठमाडौं — नेपालले चामल आयातमा निरन्तर कटौती गर्दै गएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ ।

यो वर्ष अघिल्लो वर्ष २०७९र०८० को तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँको कम धान र चामल आयात भएको हो । आर्थिक वर्ष २०७९/०८० मा ३६ अर्ब ६५ करोड रुपैयाँको धान र चामल आयात भएको थियो ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक २०८०/०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

आर्थिक वर्ष २०७८/२०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । यो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ९२ करोड रुपैयाँको धान र चामलको आयात कम भएको विभागको तथ्याङ्क छ ।

नेपालमा यसरी धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । नेपालको अधिकांस युवाहरु विदेश पलाएन हुनु, उत्पादनमा वृद्धि हुनु, सरकारी तथ्याङ्क गलत हुनु, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दा पनि खाद्यान्नको आयात घट्न सक्ने उनीहरुको अनुमान छ ।