काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नाकाबन्दीको समयमा देखाएको परिपक्व नेतृत्व र भविष्यप्रति केंद्रित दृष्टिकोणले अहिले सकारात्मक नतिजा दिन थालेको देखिन्छ। अब नेपालमै पेट्रोलियम पदार्थ उत्पादन हुने भएको हो ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतले नाकाबन्दी लगाएको थियो। पेट्रोलियम पदार्थको हाहाकार भएको बेला ओलीले नेपालमै पेट्रोलियम पदार्थको उत्खनन गर्ने चीनसँग सम्झौता गरेका थिए।

सो अनुसार चीन सरकारको सहयोगमा दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ । अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खनन र प्रशोधनको कामलाई अघि बढाउने सरकारले बताएको छ।

नेपालमा पेट्रोलियम पदार्थ उत्खननको यो प्रगति एउटा ऐतिहासिक कोसेढुङ्गा हो। 

यो परियोजनाले सफलताका साथ अगाडि बढेमा, नेपालले आयातित पेट्रोलियम पदार्थमा निर्भरता कम गर्दै स्वदेशी स्रोतलाई प्राथमिकता दिन सक्नेछ। यसले राष्ट्रिय गौरव बढाउनुका साथै रोजगारी सिर्जना, आर्थिक वृद्धि, र ऊर्जा क्षेत्रमा आत्मनिर्भरता ल्याउनेछ।

यस उपलब्धिका लागि नेपाल सरकार, चीन सरकार, र यसमा संलग्न प्राविधिक तथा विज्ञहरूको मेहनत प्रशंसनीय छ। व्यवसायिक उत्पादन र प्रशोधनका लागि थप योजना, वित्तीय स्रोत, र प्राविधिक तयारी आवश्यक पर्नेछ। यसका लागि दीर्घकालीन रणनीति तयार गरी अघि बढ्न जरुरी छ।