विराटचोक— मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरको टोकाइबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।
बेवारिसे कुकुरले टोकेर गम्भीर घाइते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो। स्थानीय बासिन्दाका अनुसार मगर केही समययता भाउन्ने क्षेत्रमै बस्दै आएका थिए।
बिहीबार बिहान करिब ९ बजेतिर बाटो हिँड्दै गर्दा उनलाई एक छाडा कुकुरले आक्रमण गरी दायाँ खुट्टाको पिँडुलामा गहिरो घाउ बनाएको थियो। घटना पश्चात कुकुर भागेको बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए। कुकुरको टोकाइबाट अत्यधिक रक्तश्राव भएपछि मगर सडकमा ढलेका थिए।
स्थानीयबासीले उद्धार गरी उनलाई बेलबारी नगर अस्पताल पुर्याएका थिए, तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको कोशी अस्पताल रेफर गरिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। चिकित्सकहरूका अनुसार अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गएको हो।
मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। प्रहरीका अनुसार परिवारका सदस्यहरूसँग सम्पर्क भइसकेको छ र शुक्रबार पोस्टमार्टम पश्चात शव परिवारलाई जिम्मा लगाइनेछ।
स्थानीय बासिन्दाहरूले छाडा कुकुरहरूको व्यवस्थापनको माग गर्दै प्रशासनलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्। यो घटनाले सार्वजनिक स्वास्थ्य सुरक्षाका उपायहरूलाई पुनः प्राथमिकता दिनुपर्ने आवश्यकतामा प्रकाश पारेको छ।




















