एजेन्सी—अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार विवाद समाधानतर्फ उन्मुख भएको छ। लण्डनमा सम्पन्न दुईदिने व्यापार वार्तापछि दुबै देश सहमतिमा पुग्ने संकेत देखिएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार दुबै देश व्यापार विवादलाई सुल्झाउन एक समझदारी खाका तयार गर्न सहमत भएका छन्। वार्तामा चीनका वाणिज्य उपमन्त्री ली चेङगाङले जेनेभामा भएको अघिल्लो वार्ताका आधारमा समझौता कार्यान्वयन गर्न सहमति भएको बताए।
चीनको प्रतिनिधिमण्डलमा वाणिज्य मन्त्री वाङ वेन्टाओ, उपप्रधानमन्त्री हे लिफेङसहित उच्च अधिकारी सहभागी थिए। उनीहरूले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक, कोषाध्यक्ष स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग ऐतिहासिक ल्यान्क्यास्टर हाउसमा वार्ता गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा उच्च ट्यारिफ लगाउने, चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने र कम्प्युटर चिप निर्यातमा नियन्त्रण लगाउने निर्देशन दिएपछि व्यापार विवाद चर्किएको थियो। ट्रम्पले ‘ट्रुथ सोशल’मा चीनले सम्झौताका प्रावधान उल्लङ्घन गरेको आरोप लगाउँदै ‘अब सहनशील बन्नु आवश्यक छैन’ भनेका थिए।
तर, पछिल्लो समय दुबै देशका नेताहरूबीच टेलिफोन संवाद भएको थियो। त्यसपछि लण्डनमा व्यापार वार्ता गर्ने निर्णय भएको थियो।
जेनेभामा भएको अघिल्लो बैठकपछि दुबै देशले एकअर्काका सामानमा लगाइएको ट्यारिफ ९० दिनका लागि घटाएका थिए। अमेरिकाले चिनियाँ सामानमाथिको ट्यारिफ १४५ प्रतिशतबाट ३० प्रतिशतमा झारेको थियो भने चीनले अमेरिकी सामानमाथिको कर १२५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो।
लण्डन वार्ताले अमेरिका र चीनबीचको व्यापार विवादलाई समाधान गर्ने दिशामा नयाँ मार्गचित्र दिन सक्ने अपेक्षा गरिएको छ।



















