सिन्धुली – नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्य तथा हाल सल्लाहकार परिषद्का सदस्य केशवप्रसाद देवकोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति कडा असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टीको वर्तमान नेतृत्वलाई परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
देवकोटाले लेखेका छन्, "पार्टी अब व्यक्तिको अधिपत्यमा होइन, विचारको नेतृत्वमा फर्किनुपर्छ।" उनका अनुसार पार्टी सिद्धान्तविहीन ढंगले अघि बढिरहेको छ र व्यक्तिको प्रभुत्वले विचारलाई कमजोर बनाएको छ। उनले पार्टीभित्र विचारको बहस र नेतृत्वमा जिम्मेवारीको पुनर्विन्यास आवश्यक रहेको बताएका छन्।
देवकोटाले ओली नेतृत्वलाई गम्भीर असफलता भएको ठहर गर्दै पार्टीका सिद्धान्त र विचारप्रतिको प्रतिबद्धतामा कमी आएको बताएका छन्। भौतिक पूर्वाधार निर्माणका सामान्य कामलाई "विचारप्रधान" पार्टीको उपलब्धि भन्नु गलत भएको उनको भनाइ छ।
देवकोटाले पार्टी संकटको समयमा खटिने कार्यकर्ताहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै लेखेका छन्, "दुर्गा प्रसाईं जस्ता व्यापारीलाई महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्य बनाउनु पार्टीको विचारभन्दा टाढिएको प्रमाण हो।" उनका अनुसार प्रसाईं अहिले पार्टीको "घाटीमा अड्किएको हाड" बनेका छन्।
एमाले र माओवादीबीचको पार्टी एकतालाई देवकोटाले "गम्भीर भूल" भन्दै त्यसले पार्टीलाई सिद्धान्त र विचारमा क्षति पुर्याएको बताएका छन्। एकता बिना छलफल र समन्वय भएकोले अहिलेको संकट उत्पन्न भएको उनको दाबी छ।
पार्टीको पुनर्संरचना र भविष्यका लागि उनले मदन भण्डारीको विचार र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वलाई समाधानको विकल्पका रूपमा अघि सारेका छन्।
एक समय ओली समूहका रणनीतिक नेताका रूपमा रहेका देवकोटा अहिले नेतृत्वविरुद्ध उभिएका छन्। उनको आलोचनाले पार्टीभित्रको असन्तोष र नेतृत्व परिवर्तनको मागलाई थप बल दिएको देखिन्छ।
७४ औं मदन भण्डारी जन्मजयन्तीका अवसरमा विद्यादेवी भण्डारीले एमाले राजनीतिमा सक्रिय हुने संकेत दिएका दिनमै देवकोटाले आफ्नो धारणा सार्वजनिक गर्नुले पार्टीभित्रको शक्ति सन्तुलन पुन समीक्षाको चरणमा रहेको संकेत गरेको छ।




















