काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीकै नेता मोहन बस्नेतप्रति कटाक्ष गर्दै आफू ‘फोहोर चलाएर फोहोरी नबन्ने’ स्पष्ट सन्देश दिएका छन्। पछिल्लो समय पार्टीभित्र सार्वजनिक रूपमा आन्तरिक मतभेद देखिन थालेका बेला उनले सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति दिएका हुन्।
थापाले लेखेका छन्, "आमाले भन्नुहुन्थ्यो, ‘फोहोर नचलाउनु–फोहोर चलाए आफैँ फोहोरी भइन्छ ।’ आज म आमाको कुरा सुन्छु।"
उनको यो भनाइ प्रत्यक्ष रूपमा मोहन बस्नेतले दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित देखिन्छ। बस्नेतले केही दिनअघि युवा नेताहरू पार्टी अनुशासन नमान्ने र अनावश्यक विवाद सिर्जना गर्ने भन्दै गगन थापा समूहप्रति आलोचना गरेका थिए।
गगनले थप लेखेका छन्, "सिधा र स्पष्ट कुरा गर्ने तर ‘फोहोर’ राजनीति नगर्ने मेरो अडान हो। मैले राजनीति निष्ठा र मूल्यका लागि थालेको हुँ, आज पनि त्यही मार्गमा छु।"
कांग्रेसभित्र नेतृत्व चयन, सत्ता गठबन्धन र आन्तरिक आलोचना–प्रत्यालोचनाको क्रम चुलिँदै गएको छ। गगन थापा र उनको पक्षधर युवा समूह पार्टीभित्र सुधार र जवाफदेहिताको माग गर्दै आएको छ भने पुराना नेता बस्नेतलगायतले संगठनात्मक मर्यादा तोडिएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।
गगनको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको मतभेद अझ चर्किएको संकेत दिएको छ। अब पार्टी नेतृत्वले यी आन्तरिक मतभेदलाई कसरी व्यवस्थापन गर्छ भन्नेमा चासो बढेको छ।




















