काठमाडौं — नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पूर्व उपाध्यक्ष तथा हाल श्रमजीवी पत्रकार संघका सर्लाही अध्यक्ष अनवर अहमद प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्। उनलाई प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले स्वागत गरेका हुन्।

संगठन प्रवेशका अवसरमा नेकपा (एमाले) मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रेस चौतारीका मधेस प्रदेश अध्यक्ष लालबाबु शेख, प्रदेश इन्चार्ज अच्युत पौडेल र केन्द्रीय सदस्य बखतियार अलीको उपस्थिति थियो।

यस्तै, असार २० गते रुकुम पूर्वमा आयोजित आधारभूत पत्रकारिता तालिमका क्रममा सिस्ने गाउँपालिकाका प्रेस सेन्टर नेपालका सचिव टीका केसी पनि प्रेस चौतारीमा प्रवेश गरेका छन्। उनलाई लुम्बिनी प्रदेश सहइन्चार्ज गणेश आचार्यले स्वागत गरेका थिए।

त्यसैगरी, जुम्लाबाट पनि प्रेस सेन्टर नेपालसँग आबद्ध पत्रकारहरू प्रेस चौतारी नेपालमा आवद्ध भएका छन्। चौतारीका कर्णाली प्रदेश इन्चार्ज याम शर्माका अनुसार, कान्जिरोवा टाइम्सका आकाश सुनार, कर्णाली मिसन पत्रिकाका लोकेश जङ्ग विश्वकर्मालगायत युवा पत्रकारहरूले अन्य संगठन परित्याग गरी चौतारीमा प्रवेश गरेका हुन्।

उनीहरूलाई कर्णाली प्रदेश सचिव नौरते नेपाली र जुम्ला जिल्ला अध्यक्ष मानदत्त रावलले स्वागत गरेका थिए।

महासचिव हिरामान लामाका अनुसार, संगठनमा प्रवेश गर्ने सम्पूर्ण पत्रकारहरूलाई योग्यताअनुसार उपयुक्त जिम्मेवारी प्रदान गरिनेछ।