काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्रमा उल्लेख्य सुधार गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत अर्थतन्त्रसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा राजस्व एक खर्ब आठ अर्बले वृद्धि भएको उल्लेख गरे। उनका अनुसार चालू आर्थिक वर्षको असार २६ गतेसम्म कुल १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, "हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्बले बढेर ६१ खर्ब पुगेको छ। राजस्व अघिल्लो वर्षको तुलनामा एक खर्ब आठ अर्बले बढेको छ। पुँजीगत खर्च पनि ३६ अर्बले वृद्धि भएको छ।"

उनका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो वर्षको ३.८७ प्रतिशत भन्दा माथि हो।

प्रधानमन्त्री ओलीको दाबीलाई सत्तारूढ दलले सरकारको उपलब्धिको रूपमा चित्रित गरिरहेका छन् भने अर्थशास्त्रीहरूले यसमा अन्य आर्थिक सूचकहरूको विश्लेषण पनि आवश्यक रहेको बताएका छन्।