काठमाडौं — राप्रपाको आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई हटाएको निर्णयविरुद्ध असन्तुष्टि बढेको छ । सुवेदीले उक्त निर्णय असंवैधानिक भएको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन् ।
सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि सक्रिय संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् । उनी नेतृत्वमा आन्दोलनरत राजावादी समूहले लिङ्देनको निर्णयलाई राजनीतिक बदनियतको संज्ञा दिएको छ । लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको जिम्मेवारी दिएका थिए ।
शनिबार राजधानीमा बसेको राप्रपा इतर समूहको भेलाले लिङ्देनको कदमलाई विधानविपरीत ठहर गर्दै निर्वाचन आयोगमा जानुपर्ने निष्कर्ष निकालेको हो । एक नेताका अनुसार आइतबार बिहान ११:३० बजे आयोगमा उजुरी दर्ता गरिनेछ ।
लिङ्देनले यतिमात्र होइन, प्रवक्ता सगुन सुन्दर लावतीलाई पनि पदबाट हटाएका छन् । विगतमा उनले धवलशमशेर राणालाई समेत संगठन विभाग प्रमुखबाट हटाएका थिए । शनिबारको बैठकमा यिनै घटनाक्रमको आलोचना गर्दै सहभागी नेताहरूले लिङ्देनको स्वेच्छाचारी शैलीको विरोध गरेका थिए ।
महामन्त्री धवलशमशेर राणाको अपार्टमेन्टमा करिब चार घण्टा चलेको बैठकमा डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, कुन्तीकुमारी शाही, प्रवीणकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाह, मिना शाही लगायत करिब दुई दर्जन नेताहरूको सहभागिता थियो ।




















