काठमाडौँ — नेकपा एमालेका नेता कर्ण थापाले महासचिव शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा झुटो गीत नगाउन आग्रह गरेका छन्। उनले पोखरेलमाथि पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको र देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप पनि लगाएका छन्।
नेता थापाले आफूले कठिन परिस्थितिमा पनि सत्यको पक्ष नछाडेको दाबी गर्दै अहिले पनि सत्यकै पक्षमा उभिइने स्पष्ट पारेका छन्।
उनले भनेका छन्, "नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनपछि पार्टी अध्यक्ष होइन, महासचिवलाई केन्द्र मान्दै कार्यालयलाई गुटबन्दीको थलो बनाउने काम भयो। अहिले पनि अध्यक्षको बचनलाई जोगाउन झुटको गीत गाउनेहरू आफूलाई अध्यक्षका रक्षक ठान्दै कार्यकर्तालाई धम्क्याउनु पार्टीहित र नीतिविपरीत हो।"
थापाले नेतृत्वलाई गुमराहमा राखेर सधैं मुखिया बन्न सकिन्छ भन्ने सोचबाट चाँडै मुक्त हुन आग्रह गरे। उनले थपे, "कठिन भन्दा कठिन दिनमा पनि सत्यका पक्षमा उभिइएको छु, फेरि पनि उभिइनेछ।"
त्यस्तै, एमाले कार्यकर्तालाई सहि तथ्य बुझेर धारणा बनाउन आग्रह गर्दै उनले गालीगलौज र कटाक्षको भाषा प्रयोग नगर्न पनि अनुरोध गरेका छन्।




















