लेटाङ — प्रविधिको द्रुत विकास हुँदै गइरहेका बेला पनि मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुरका बासिन्दा अझै मोबाइल नेटवर्क समस्याबाट हैरान छन्।

स्थानिय बासिन्दाहरूका अनुसार सामान्य फोन कल गर्नसमेत घरभित्र सम्भव नहुने अवस्था रहेको छ। एक स्थानीयवासीले भने, “फोन उठाउँदा सिग्नल नै हुँदैन। बाहिर निस्केर फोन उचालेपछि मात्र कहिलेकाहीं नेटवर्क आउँछ।”

विशेषगरी आकस्मिक बिरामी, विपद् वा अन्य आपतकालीन अवस्थामा सम्पर्क गर्न नसक्दा ठूलो समस्या हुने गरेको उनीहरूको गुनासो छ।

कमलपुरमा एनटीसी (नेपाल टेलिकम) र एनसेल दुबै सेवा प्रदायकका नेटवर्क कमजोर छन्। इन्टरनेट चलाउन त परै जाओस्, सामान्य कल गर्न पनि पटक–पटक प्रयास गर्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।

बासिन्दाहरूले सम्बन्धित दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू र स्थानीय सरकारसँग तत्काल नेटवर्क समस्या समाधान गर्न माग गरेका छन्। “आजको युगमा सञ्चारको सहज पहुँच सबै नागरिकको अधिकार हो,” एक स्थानीय युवा नेताले भने, “हामीले बारम्बार ध्यानाकर्षण गराउँदै आएका छौं, अब समाधान नभए आन्दोलनमै जान्छौं।”

लेटाङ नगरपालिकाका एक जनप्रतिनिधिले भने टावर स्थापनाको पहल भइरहेको जानकारी दिए। “स्थान चिन्न र समन्वय गर्न केही समय लागेको हो, छिट्टै समाधानको बाटो खुल्नेछ,” उनले भने।

यदि समयमै समाधान नगरिए जनताको आक्रोश चुलिन सक्ने देखिन्छ।