बाल्यकाल :
पूर्वका पहाडी जिल्लाहरुका लाहुरेहरु छुट्टीमा घर आउने पल्टन फर्कदा बासबस्ने ठाउँ हो धरानको देशीलाइन । त्यही देशीलाइनमा २००३ साल मंसिर २ गते जन्मनु भएका नेपालकै कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्ति हुन् दलबहादुर छायाँ भुजेल ।
आमा श्रीकुमारी भुजेल र बुबा पहलमान भुजेलका ५ छोरीहरुपछि एक्लो कान्छा छोराका रुपमा किसान परिवारमा वहाँको जन्म भएको थियो । धनकुटा जिल्ला पुख्र्यौली भएपनि बुबा पहलमान परिवार सहित १९९० अघिनै धरान झरेपछि वहाँको परिवार कृषि पेशामा आस्रित थियो । दलबहादुर छायाँ पनि कृषिकर्ममै समर्पित हुनुहुन्थ्यो ।
शिक्षा र चेतनाको बिजारोपन :
विद्यालय थिएन, पढ्नका लागि भारतबाट आएका शिक्षकहरुले गाउँटोलका युवाहरु बटुलेर पढाउने गर्दथे । दिउँसोको समय खेती, किसानी र गृहस्थीको काममा लाग्नु पर्ने भएकाले रातीको फुर्सदको समयमा पढाई हुने गर्दथ्यो त्यसलाई त्यतिबेला नाइट स्कुल भनिन्थ्यो कमरेड दलबहादुर छायाँको प्रारम्भिक शिक्षा पनि त्यसरी नै सुरु भएको थियो ।
वहाँले पनि टोलका साथीभाइहरुसंगै भारतिय नागरिक जागेश्वर झा लगायतका शिक्षकहरुबाट शिक्षा ग्रहण गर्नुभयो । वहाँले उमेरको १९ वर्षपछि मात्रै नाइट शिक्षा लिन थाल्नु भएको बुझिएको छ जबकी त्यस समय वहाँको विवाह भइसकेको थियो ।
नाइट शिक्षा लिनु अगावै वहाँ कम्युनिष्टहरुको संगतका कारण माक्र्सवादी शिक्षाबाट भने दिक्षित भइसक्नुभएको बुझिन्छ । वहाँमा परिवर्तनप्रतिको हुटहुटी, समाजका लागि नयाँ केही गरौँ भन्ने भावना माक्र्सवादी विचारले रुपान्तरण ल्याइसकेको थियो । त्यही भएर वहाँले त्यही समयदेखि नै आफ्नो नामपछि थर लेख्नु भएन “छायाँ” लेख्नुभयो ।
उच्च शिक्षाका लागि धनकुटा क्याम्पस पढ्न सुरु गर्दा र बि ए पास गरिसक्दा वहाँ पार्टी कमिटी तथा त्यस समयका नेताहरु र पूर्वक्षेत्रकै प्रखर क्रान्तिकारी नेता भइसक्नु भएको थियो ।
माक्र्सवादी नेताहरु मनमोहन अधिकारी, भरतमोहन अधिकारी, बलराम उपाध्याय, जनार्दन आचार्य, बिएकृष्ण श्रेष्ठ, भीमराज मास्के, छबिलाल लम्साल, नेत्रबन्धु पौडेल, हिरा रिजाल, कृष्ण पाख्रिन, हरुसंगको वहाँ निरन्तर पार्टीकाममा जोडिनु भएको हाल नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य नारायण कार्की बताउनुहुन्छ ।



















