काठमाडौं — नेपालमा स्वास्थ्यका लागि हानिकारक ठहर गर्दै मुग्री माछालाई प्रतिबन्ध गरिएको छ। वैज्ञानिक अनुसन्धानले मुग्री माछामा अत्यधिक मात्रामा विषालु धातु पारो  भेटिएको पुष्टि गरेपछि नेपालसहित अन्य दक्षिण एसियाली मुलुकहरूमा यसको आयात, बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको हो।

स्वास्थ्य विज्ञहरूका अनुसार मुग्री माछामा पाइएको पारोको मात्रा मानव शरीरका लागि सह्य सीमाभन्दा कैयौं गुणा बढी छ। पारो एक किसिमको विष हो, जसले क्यान्सर,दीर्घकालीन रूपमा मस्तिष्क, स्नायु प्रणाली, कलेजो, मिर्गौला र प्रजनन प्रणालीमा असर पुर्‍याउन सक्छ। विशेषगरी गर्भवती महिला र बालबालिकाका लागि अत्यन्तै हानिकारक मानिन्छ।

‘स्वादिलो र सस्तो भनेर खाने माछाले ज्यानै जोखिममा पार्न सक्छ,’ चिकित्सकहरू चेतावनी दिन्छन्।

थाइल्याण्ड, म्यानमार, भारत र बंगलादेशले यस माछालाई औपचारिक रूपमा प्रतिबन्ध गरिसकेका छन्। नेपालले पनि यसलाई प्रतिबन्धित सूचीमा राखेपनि भारतबाट लुकाइछिपाइ ल्याउने र होटल तथा मासु पसलहरूमा बेचबिखन हुने क्रम अझै रोकिएको छैन।

नेपालका विभिन्न सहरमा नियमित अनुगमन हुँदा नियमविपरीत भारतबाट ल्याइएको मुग्री माछा फेला पर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

वरिष्ठ चिकित्सकका अनुसार थर्मोमिटरमा प्रयोग हुने पारोले समेत मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने देखिएपछि अहिले अस्पतालहरू ‘पारोमुक्त’ घोषित हुँदै गएका छन्।

‘त्यस्तो खतरनाक धातु अत्यधिक मात्रामा रहेको माछा खानु भनेको स्वास्थ्यमा धीमा विष हाल्नु हो।“

स्वास्थ्य सरोकारवाला निकायहरूले आम नागरिकलाई मुग्री माछाको सेवन नगर्न र बजारमा देखिएमा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेका छन्।