एजेन्सी — घानामा एक सैन्य हेलिकोप्टर दुर्घटनामा दुई मन्त्रीसहित आठ जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इब्राहिम मुर्तला मुहम्मद छन्।
साथै, तीन सरकारी अधिकारी र तीन जना वायुसेना कर्मचारीको पनि ज्यान गएको घाना सशस्त्र बलले जनाएको छ।
जेड–९ नामक हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेको थियो। उडानका क्रममा हेलिकोप्टरको रडार सम्पर्क टुटेको थियो।
राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहका अनुसार दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको हो।
घाना सरकारले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरेको छ।



















