काभ्रेपलाञ्चोक — लामो समयदेखि नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण समर्थनमा रहेको काभ्रेमा यसपटक फरक राजनीतिक दृश्य देखिएको छ। पूर्वराष्ट्रपति र पार्टीकी पूर्वउपाध्यक्ष विद्या भण्डारीको पक्षमा समान्तर कमिटी गठन भएपछि ओली पक्ष कमजोर बन्दै गएको हो।

जिल्ला अधिवेशन देखिनै अनेरास्ववियु हुँदै युवा संघसम्म भण्डारी पक्षको प्रभाव बढ्दै गएको काभ्रेमा आइतबार सम्पन्न ११औं जिल्ला अधिवेशनबाट धुलिखेलका सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी घोषणा गरिएको छ। सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा, कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल तथा संगठन विभाग प्रमुखमा किरण तामाङ चयन भएका छन्।

यो अधिवेशन बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रे इञ्चार्ज सागर रायमाझीले स्थगित गर्न दिएको निर्देशन नमानी गरिएको हो। भण्डारी पक्षले १३ वटै पालिका कमिटीको सहभागितासहित अधिवेशन सम्पन्न भएको दाबी गरेको छ भने ओली पक्षले यसलाई अवैधानिक भन्दै आपत्ति जनाएको छ।

ओली पक्षका नेता तथा युवा संघका उपाध्यक्ष रुपक रायमाझीका अनुसार अधिवेशन प्रतिनिधिमूलक र भौगोलिक सन्तुलनविहीन छ। उनका अनुसार केन्द्र र प्रदेश कमिटीको निर्देशनअनुसार नमोबुद्ध, रोशी, महाभारत, खानीखोला, बेथानचोक र तेमाल गाउँपालिकाले प्रतिनिधि चयन नगरेका थिए। पनौती नगरमा भने विवादकैबीच दुई पक्षले छुट्टाछुट्टै प्रतिनिधि चयन गरेका थिए।

अधिवेशन उद्घाटन जिल्ला अध्यक्ष राजन भुर्तेलले गरे। प्रमुख अतिथीका लागि तय गरिएका केन्द्रीय अध्यक्ष क्षितिज थेबे र पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा भने सहभागी भएनन्।

पार्टीभित्र पूर्वराष्ट्रपति भण्डारीलाई पुनः राजनीतिमा सक्रिय हुन रोक लगाउने केन्द्रीय निर्णय भए पनि काभ्रेमा नेताहरू दुई ध्रुवमा देखिएका छन्। जिल्ला इञ्चार्ज तथा पोलिट्व्युरो सदस्य बास्कोटा, अध्यक्ष भुर्तेललगायत नेताहरू भण्डारी पक्षमा छन् भने केन्द्रीय सदस्य रेशम लामा र बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा ओली पक्षमा रहेका छन्।

यसअघि साउन १७ गतेका लागि तोकिएको अधिवेशन दुई पक्षबीचको विवादका कारण स्थगित भएको थियो। आइतबार बिहानै प्रदेश अध्यक्षको नाममा अधिवेशन रोक्ने निर्देशनपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भए पनि भण्डारी पक्षको नेतृत्वमा अधिवेशन सम्पन्न गरिएको हो।