मोरङ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद अमृत अर्यालले राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिदिने घोषणा गरेका छन्। मातृशोकमा रहेका राजवंशीलाई मंगलबार विराटनगर–१४ स्थित घरमै पुगेर समवेदना व्यक्त गर्दै अर्यालले सो प्रतिबद्धता जनाएका हुन्।

अर्यालका अनुसार कोशी प्रदेशसभाका प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदको सिफारिसमा पूर्वाधार विकास कार्यालयमार्फत अति विपन्न वर्गका ६ परिवारका लागि करिब पाँच लाख रुपैयाँ बराबरको घर निर्माण गरिन्छ। राजवंशीको घर पर्ने मोरङ–५(क) बाट २०७९ सालको प्रदेश निर्वाचनमा अर्याल विजयी भएका थिए।

यसअघि मंगलबारै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि राजवंशी परिवारलाई समवेदना दिन पुगेका थिए। राजवंशीकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार ६३ वर्षको उमेरमा निधन भएको हो।