काठमाडौं — नेकपा एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि अपमानजनक व्यवहार हुने गरेको आरोप लगाएका छन्।

संसदीय समितिको आजको बैठकमा बोल्दै ढकालले यात्रुलाई ‘ठग जस्तो’ व्यवहार गर्ने र दुर्व्यवहार गर्ने प्रवृत्ति अझै रोकिएको छैन भने। ‘‘पहिलादेखि हुँदै आएको यस्तो काम अहिले पनि रोकिएको छैन,’’ उनले भने।

उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले पाउनुपर्ने न्यूनतम सेवा उपलब्ध छैन र यात्रुको आत्मसम्मानमा ठेस पुग्ने कार्य स्वीकार्य छैन।

ढकालले विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको ‘शासन’ चल्ने गरेको दाबी गर्दै मन्त्रालयको भूमिकामाथि प्रश्न उठाए। ‘‘पास कहिले खुला, कहिले बन्द—सबै उहाँको इच्छामा निर्भर छ,’’ उनले भने। वैकल्पिक व्यवस्था नभएको र चेकिङ काउण्टरसम्म पास लिएर पठाउने चलन हटाइएकोमा पनि उनले असन्तुष्टि जनाए।

फिलिपिन्समा ससुराली भएका ढकाल हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलिया, भारत र फिलिपिन्स नियमित आवतजावत गर्ने गर्छन्। लामो समय विदेशमा बिताउने भएकाले एमालेभित्र नै उनलाई ‘घुमुवा माननीय’ भन्ने उपनाम दिइएको बताइन्छ।