पर्सा — वीरगञ्जमा हैजाको सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ ।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा हालसम्म ३ सय ४४ जना हैजा र झाडापखालका बिरामी पुगेका छन् । तीमध्ये ९३ जनामा हैजा पुष्टि भएको छ भने १ सय ६६ जनाको उपचार भइरहेको छ । केही उपचारपछि डिस्चार्ज भएका छन् ।

अस्पतालमा भर्ना भएका बिरामीमध्ये २७ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र १ सय २२ जनाको जनरल वार्डमा उपचार भइरहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

हैजा नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकार त्रिस्तरिय समन्वयमा सक्रिय रहेका छन् ।