काठमाडौं—नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले अब जनताको बहुदलीय जनवाद (जबज) लाई त्याग्ने संकेत गरेका छन ।
विगतमा हरेक ठूला कार्यक्रममा जबजलाई नारामा जोड्दै आएको एमालेले यसपटक विधान महाधिवेशनका लागि तय गरिएको नाराबाट जबज मात्र होइन, एमाले शब्द नै हटाएको छ।
महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको नारामा भनिएको थियो –
“निर्णायक शक्ति निर्माण नेकपा (एमाले)को संकल्प, ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रको साझा गन्तव्य !”
तर मंगलबार फेरि सम्पादन गरेर सार्वजनिक गरिएको नयाँ नारामा भने एमाले शब्द पनि हराएको छ। संशोधित नारा यसप्रकार छ –
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय गन्तव्य ।”
यसअघि पार्टीको हरेक ठूला सम्मेलनमा जबजलाई मूल नाराको हिस्सा बनाइने परम्परा थियो। तर यसपटक नारा र सन्देश दुवैबाट जबज गायब हुनु एमालेले आफ्नै मूल मान्यता परित्याग गर्ने संकेतका रूपमा लिइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई नै अब एमालेको मूल सिद्धान्तमा रूपान्तरण गर्ने तयारी देखिएको विश्लेषण गरिएको छ। यद्यपि, यो नारा झलनाथ खनालले नवौँ महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमार्फत अघि सारेको दाबी गर्दै आएका छन्।
यसअघि विधान महाधिवेशन आउन १९ दिन बाँकी भनेर सार्वजनिक गरिएको पोस्टरमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर हटाएर केवल ओलीको मात्र राखिएकोमा पार्टीभित्रै आलोचना भएको थियो। अहिले त्यस्तो काउन्टडाउन पोस्टर पनि सार्वजनिक भइरहेको छैन।
राजनीतिक विश्लेषकहरू भन्छन्, “शंकर पोखरेल स्वयं जबजका मुख्य व्याख्याता मानिँदै आएका थिए। तर अहिले उहाँकै संकेतले एमालेको वैचारिक रुपान्तरण औपचारिक बन्दै गएको प्रष्ट देखिन्छ।”




















