ललितपुर — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक सीमा विषय भारतसँग वार्तामार्फत समाधान गर्ने आफ्नो अडान महाधिवेशनको उद्घाटन भाषणमै दोहोर्याएका छन्।
ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान महाधिवेशनको स्वागत भाषणमा उनले चीनले भारतसँग लिपुलेकमा गरेको व्यापारिक सम्झौताप्रति असहमति जनाएको खुलासा गरे। उनले भने, “राष्ट्रपति सीसँगको दुई पक्षीय भेटवार्तामा लिपुलेकसम्बन्धी भारत–चीन सम्झौताप्रति स्पष्ट असहमति राखेको छु। त्यसको अडियो–भिडियो प्रमाण सबैमा छ।”
आसन्न भारत भ्रमणलाई लक्षित गर्दै उनले सीमा विवाद समाधान भारतसँगै खोजिने स्पष्ट पारे। ओलीले भने, “खासमा लिपुलेक बारेमा भारतसँग वार्ता गरेर समाधान खोज्ने हो। तर भारत–चीन व्यापार सम्झौतामा चीनले हस्ताक्षर गरेकाले त्यहाँ कुरा उठाउनुपर्यो।”
उनले आफूले राष्ट्रियता उठाउँदा कतिपयले गलत व्याख्या गरेकोमा असन्तोष व्यक्त गर्दै देशको सार्वभौमिकता र सीमा समस्या अन्तर्राष्ट्रिय स्तरमा प्रस्ट्याउनु पर्ने आवश्यकता औंल्याए।
चीनका राष्ट्रपति सी जिनपिङले जवाफमा नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति निरन्तर समर्थन रहने स्पष्ट पारेको ओलीले जानकारी दिए।




















