काठमाडौं—नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो पनि जारी रहनेछ। ललितपुर, गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन पनि हिजो बाँकी रहेका प्रतिवेदनको प्रस्तुतीकरण हुने छ।
विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा विस्तृत छलफल गर्न १० वटा समूह बनाइएको छ। आज (शनिबार) ती समूहहरूमा दिनभर छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची तय भएको छ।
आइतबार प्रत्येक समूहको निष्कर्ष प्रस्तुत गरिनेछ। समूहहरूको प्रस्तुतिबाट आएको निष्कर्ष प्रतिवेदन प्रस्तोताहरूले स्पष्ट पार्नेछन् र त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्ने कार्यक्रम तय भएको छ।
आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।




















