विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा कोशी प्रदेशकै सबैभन्दा ठूलो ‘विराटचोक स्केट जोन’ शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। बालबालिका र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले युवाहरूको संयुक्त लगानीमा निर्माण गरिएको यस इनडोर स्केट जोन अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक सुविधा सहित तयार पारिएको सञ्चालकहरूले जनाएका छन्।

वडा–१० का अध्यक्ष राजकुमार राईले रिबन काटी स्केट जोनको उद्घाटन गरे। उनले उद्घाटन कार्यक्रममा भने, “स्केटिङ जस्तो नयाँ खेलले बालबालिका र युवालाई सकारात्मक क्रियाकलापमा संलग्न गराउने, मानसिक र शारीरिक विकासमा सहयोग पुर्‍याउने र नगरको पर्यटन प्रवर्द्धनमा टेवा दिने विश्वास छ।” वडा–९ का अध्यक्ष प्रकाश श्रेष्ठले पनि व्यवस्थापन, खेलाडीको सुरक्षा र अनुशासनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

सञ्चालक मेख रानाका अनुसार, यो स्केट जोन प्रदेशकै ठूलो मात्र नभई सुरक्षा व्यवस्थाका हिसाबले पनि अत्याधुनिक छ। खेलाडीलाई हेल्मेट, स्केटिङ जुत्ता, सेफ्टी गार्डलगायत सम्पूर्ण उपकरण उपलब्ध गराइनेछ। प्रवेश टिकट बिना खेल्न पाइने छैन भने सम्पूर्ण गतिविधि सिसिटिभी निगरानीमा रहनेछ। पहिलो घण्टाका लागि टिकट दर रु. २०० तोकिएको छ भने थप एक घण्टा खेल्दा रु. १०० अतिरिक्त लाग्ने व्यवस्था गरिएको छ।

१२ वर्षभन्दा कम उमेरका बालबालिका वा १.५ मिटरभन्दा कम उचाइ भएका खेलाडीले अभिभावकसहित मात्र खेल्न पाउनेछन्। पूर्ण सुरक्षा सामग्री प्रयोग नगरी खेल्न अनुमति नदिइने स्पष्ट पारिएको छ। सञ्चालक रानाले भने, “स्केटिङ खेललाई स्वास्थ्य र सुरक्षासँग जोडेर सावधानीपूर्वक सञ्चालन गरिनेछ। यसले सुन्दरहरैंचालाई प्रदेशस्तरीय खेलकुद केन्द्रको रूपमा विकास गर्न सहयोग गर्नेछ।”

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, अभिभावक र सर्वसाधारणको उपस्थिति रहेको थियो।