प्रतिनिधि सभाबाट सामूहिक राजीनामाको घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको संसद विघटनबारे धारणा फरक देखिएको छ। सांसद डा. तोसिमा कार्की तत्काल संसद विघटनको पक्षमा खुलेकी छन् भने सांसद सोबिता गौतम संसदको निरन्तरताको पक्षमा अडानमा छिन्।

काठमाडौं—देशव्यापी जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिए पनि संसद विघटनबारे पार्टीभित्र एकमत छैन।

ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले संसदलाई तत्काल विघटन गरेर नयाँ संविधान निर्माण र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

“अहिलेको संविधानले स्थिर सरकार दिन सकेन, गठबन्धनको खेल मात्रै चल्यो। अब ढिलो नगरी संसद विघटन गरेर अन्तरिम सरकार गठन गरी नयाँ चुनाव गर्नुपर्छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

तर काठमाडौं–२ बाट निर्वाचित सांसद सोबिता गौतमले संसद विघटन जनताको सार्वभौम सत्ता र सर्वोच्चतामाथिको आघात हुने भन्दै विरोध गरेकी छन्।

“भ्रष्ट नेताहरूलाई कानुन बनाएरै कारबाही गर्न सकिन्छ। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चता संकटमा पार्नु हो,” उनले फेसबुक भिडियोमार्फत भनिन्।

यता काठमाडौं महानगरका मेयर बालेन शाहले पनि संसद विघटनको माग गर्दै राष्ट्रपतिलाई अन्तरिम सरकार गठनको आह्वान गरेका छन्।

रास्वपाका २० जना सांसदले मंगलबार सामूहिक राजीनामा दिएका थिए। उपसभामुख इन्दिरा रानामगर बाहेकका सबै सांसदको राजीनामा पत्रमा हस्ताक्षर छ। उनीहरूले सरकारलाई जेनजी आन्दोलनका माग सम्बोधन गर्न र घाइतेहरूको निःशुल्क उपचार गर्न आग्रह गरेका छन्।

यता जेनजी समूहभित्र पनि संसद विघटनबारे फरक धारणा देखिएको छ। केही समूहले संसद विघटन र नयाँ चुनावको पक्षमा भए पनि केहीले शून्यताको स्थिति ल्याएर देश अस्थिर नबनाउन सुझाव दिएका छन्।