काठमाडौँ —अन्तरिम सरकारको नयाँ नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज छलफल हुँदैछ।

स्रोतका अनुसार, जेनजी प्रतिनिधिहरूले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश शुसिला कार्कीको नाम टुंगो लगाइसकेका छन्। आजको वार्ताले उक्त निर्णयलाई औपचारिकता दिने तयारी भइरहेको बुझिएको छ।

कार्की निकट स्रोतले बताएका छन् कि प्रारम्भिक वार्ता पहिले सेनासँग हुनेछ र त्यसपछि विकसित परिस्थितिअनुसार राष्ट्रपति पौडेलसँग वार्ता हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूसँग बिहीबार बिहानदेखि छलफल गरी अन्तरिम सरकारको निकास निकाल्ने तयारी गरेको बताइएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि शुसिला कार्कीको नाममा सहमति जनाएका छन्, जसले उनलाई जेनजीको एकल उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ।