बेलबारी — जेएनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मोरङको बेलबारी–११ का १८ वर्षीय श्रीयम चौलागाईंको मृत्यु भएको छ। सोमबार बिहान कलेजबाट फर्कंदै गर्दा बानेश्वरमा ओर्लिएका श्रीयम माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा सहभागी भएका थिए। त्यही क्रममा प्रहरीको गोली लाग्दा उनी घटनास्थलमै ढले।

इटहरीबाट प्रवेशिका सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका श्रीयम हाल काँडाघारीमा बस्दै ग्लोबल कलेजमा अध्ययनरत थिए। राजनीतिमा सक्रिय नभए पनि भ्रष्टाचार अन्त्य र सुशासनको नाराले उनी आन्दोलनतर्फ आकर्षित भएका थिए। “देशलाई निकास दिनुपर्छ” भन्ने उत्साहका साथ सोमबार उनी आन्दोलनमा सहभागी भएका थिए तर अब कहिल्यै घर फर्कने छैनन्।

श्रीयमका मामा केशव कार्कीका अनुसार घर नफर्केपछि खोजी गर्दा ट्रमा सेन्टरमा मृतकको सूचीमा श्रीयमको नाम देखिएको थियो। “देखेपछि सम्हालिन धेरै बेर लाग्यो,” मामा कार्कीले भने। चार दिन बितिसक्दा पनि परिवारले शव बुझ्न सकेका छैनन्। अहिले शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा रहेको परिवारजनले बताएका छन्।

श्रीयमका बुवा गणेश चौलागाईंले सामाजिक सञ्जालमार्फत भावुक अपिल गर्दै भनेका छन्,

“जेनजी नेतृत्वलाई हाम्रो अनुरोध छ — कम्तीमा हाम्रो छोराको लास दिनुहोस्। यही नै हाम्रो लागि ठूलो सहयोग र न्याय हुनेछ।”

परिवारजनले जेनजी नेतृत्व अहिलेसम्म सम्पर्कमा नआएकोप्रति असन्तोष व्यक्त गरेका छन्। “यो श्रीयमको मात्र कुरा होइन, आन्दोलनमा ज्यान गुमाएका सबै युवाको कुरा हो,” मामा कार्कीले भने, “जेनजीले उनीहरुलाई सहिद घोषणा गर्नुपर्छ। तभी केही भए पनि न्यायको अनुभूति हुनेछ।”

परिवारको अन्तिम आग्रह स्पष्ट छ —

“हाम्रो छोराको शव फर्काइदेऊ, यही नै हाम्रो लागि न्याय हुनेछ।”