विराटचोक— मोरङको सुन्दरहरैंचा नगरपालिकाले स्थगित सेवाहरू पुनः सुचारु गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको भदौ २७ गते बसेको २/१४३औं बैठकले भदौ २९ गतेदेखि नगरपालिकाका स्थगित सेवाहरू पुनः सुचारु गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले एक सूचना जारी गर्दै वडा कार्यालयहरू तथा नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरूबाट दिइने सार्वजनिक सेवा प्रवाह पनि यथावत् सञ्चालन हुने जानकारी दिएका छन्। साथै, नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन पनि सुचारु गरिने जानकारी दिइएको छ।
नगरपालिकाले नागरिकहरूलाई आवश्यक कामकाज र सेवाहरू लिन आग्रह गरेको छ। जेनजी आन्दोलनका कारण नगरपालिका केहिदिन देखि अवरुद्ध भएको थियो ।




















