काठमाडौँ — चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवस्था विभागले यात्रुहरूलाई सुरक्षित र सहज यात्रा गराउन आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ।
मंगलबार विभागमा आयोजित छलफल कार्यक्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रा सहज बनाउन विभागको तर्फबाट सबै आवश्यक व्यवस्था मिलाइसकिएको जानकारी दिए। उनले भने, “सडक क्षेत्रमा सुशासन कायम गर्दै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन सबै निकायबीच सहकार्य अनिवार्य छ।”
पोखरेलका अनुसार सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा सडक विभागसँग सहकार्यमा डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिनेछ। साथै, यात्रुहरूलाई ठगी हुन नदिन भाडा दर पारदर्शी बनाउन सहरी तथा ग्रामीण क्षेत्रमा यात्रु सहायता कक्ष र भाडा दर बोर्ड राखिने उनले बताए।
छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार यस वर्ष घटस्थापनादेखि नै यात्रुको चाप बढेको छ। उनले व्यवसायीहरू सेवा दिन तयार रहेको बताउँदै सरकारका निकायहरू पनि समान रूपमा तयार हुनुपर्नेमा जोड दिए।
त्यस्तै महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको विशेष परिस्थितिमा भाडा दर वृद्धि नगरी सेवामा ध्यान दिने प्रतिबद्धता जनाए। उनले अग्रिम टिकट प्रणालीभन्दा सवारी साधनको उपलब्धताको आधारमा टिकट वितरण गरिने जानकारी पनि दिए।



















