काठमाडौँ — जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको थियो। यसमध्ये ६ जनाको शव काठमाडौं बाहिर लगिएको छ भने ४ जनाको शव पशुपतिमा अन्त्येष्टि गरिएको छ।

शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी थिए। मन्त्रीहरूले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। साथै, सशस्त्र प्रहरी बलले मृतकप्रति सलामी अर्पण गरेको थियो।

भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको पोस्टमार्टमपछि आज परिवारलाई जिम्मा लगाइएको हो। कतिपयको यसअघि नै अन्त्येष्टि भइसकेको छ।

सरकारले भोलि शोकबिदा घोषणा गरेको छ। आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय समेत भइसकेको छ। यस आन्दोलनमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या हालसम्म ७२ पुगेको छ।