महेशजी आन्दोलन सेलाएपछी घर बाहिर निस्कनु भयो।सायद तपाई घर बाहिर निस्कदा आन्दोलनले सल्काएको आगो निभेको थिएन । निभेको ठाउँमा खरानी सेलाएको थिएन। त्यही आगो र तातो खरानीमाथि उभिएर हालै तपाईंले घोषणा गर्नुभयो—१० हजार मानिसलाई सडकमा उतारेर आन्दोलन गर्ने योजना । देश अहिले जेन–जी आन्दोलनको असर र त्यसले ल्याएको भौतिक तथा सामाजिक क्षतिको गहिरो घाउबाट उठ्न प्रयास गर्दैछ । सरकारी कार्यालय, विद्यालय, सडक, र सार्वजनिक सम्पत्ति जलेर खरानी भएका छन्। यस परिस्थितिमा ठूलो जनसङ्ख्या सडकमा उतारेर आन्दोलन गर्ने घोषणा गर्नु, मेरो विचारमा, यथार्थपरक र जिम्मेवार कदम होइन ।
देश अहिले पुनर्निर्माणको अवस्थामा छ । नागरिकहरू आफ्ना घर, विद्यालय, सरकारी सेवा र दैनिक जीवनका आधारभूत संरचनालाई पुनर्स्थापित गर्ने प्रयासमा छन् । यसै समयमा राजनीतिक दलहरू आपसमा भिड्ने वा आफ्नो शक्ति प्रदर्शन गर्ने रणनीति अपनाउन थाले भने, यो केवल जनताको पीडा दोब्बर बनाउने मात्र हो, देशको स्थायित्व र समृद्धिलाई संकटमा पार्ने काम हुनेछ ।
महेश बस्नेतज्यू, राजनीति नागरिकको विश्वास र भलोका लागि हो । अहिले तपाईंको शक्ति प्रदर्शनको योजना भन्दा बढी आवश्यक छ—सहयोग, सहमति र संवेदनशील नेतृत्व। देशका खरानीमा रहेको पीडा महसुस गर्नुहोस्। आन्दोलनभन्दा अघि जनता सुरक्षित र आश्वस्त हुनुपर्छ । जनताको जीवन र राष्ट्रिय सम्पत्ति जलेको बेला त्यसको प्राथमिकता नराखेर सडकमा शक्ति प्रदर्शन गर्नु राजनीतिक संस्कारसँग मेल खाँदैन ।
यसकारण मेरो सल्लाह छ—यस समयमा सार्वजनिक रुपमा ठूलो आन्दोलनको घोषणाबाट पन्छनुहोस् । देशले अहिले तपाईंको नेतृत्व, संयम र सहानुभूतिप्रतिको वास्तविक मूल्यांकन गर्दैछ । जनताको पीडामा साथ दिनु र देशको पुनर्निर्माणमा योगदान गर्नु नै साँच्चिकै नेतृत्व हो ।



















