विराटचोक—जेनजी आन्दोलनको आवरणमा आगजनी र तोडफोडपछि पूर्णरूपमा अवरुद्ध मोरङ जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि आंशिक सेवा सुरु गर्ने भएको छ।

गत भदौ २४ गते भएको आगजनीका क्रममा कार्यालयको भवनसहित सवारीसाधन, कम्प्युटर, प्रिन्टर, स्क्यानर, ल्यापटप र फर्निचर जस्ता सामग्री जलेर ध्वस्त भएका थिए। साथै, कार्यालयभित्र चोरी र लुटपाट समेत भएको थियो। उक्त घटनापछि अत्यावश्यक सेवासमेत ठप्प भएका थिए।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बुधबारदेखि नाबालक परिचयपत्र, जातीय सिफारिस, ठाडो उजुरी र पेन्सन सिफारिससम्बन्धी सेवा सञ्चालनमा ल्याइनेछ। तर, नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने जानकारी प्रजिअ यादवले दिएका छन्।

उनका अनुसार अवरुद्ध सेवाहरूलाई पूर्ण रूपमा सुचारु गर्न आवश्यक तयारी र पहल भइरहेको छ।