गुल्मी — गुल्मीका विभिन्न ठाउँमा परेको चट्याङले एक बालिकाको ज्यान लिएको छ भने पाँचजना घाइते भएका छन्। साथै तीनवटा गोरुको समेत मृत्यु भएको छ।
मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति परेको चट्याङले ४ वर्षीया रियासा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आफ्नै घरमा आमा–बुवासँग सुतिरहेका बेला चट्याङ लाग्दा बालिकाको घटनास्थलमै मृत्यु भएको हो।
सो घटनामा बालिकाका बुवा २३ वर्षीय नेरसिंह विक र आमा २२ वर्षीया सुन्तली विक घाइते भएका छन्। उनीहरूलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ।
यसैगरी, इस्मा गाउँपालिका–४ दोहोलीमा परेको चट्याङले तीनजना घाइते भएका छन्। घाइतेमा ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट–७ वाग्लाका ५८ वर्षीय कृष्णप्रसाद पन्थी छन्। निर्मला र कालीका घरमै बसिरहेको बेला र पन्थी मकै केलाउँदै गर्दा चट्याङ लागेर घाइते भएका हुन्। उनीहरूलाई गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ।
त्यस्तै, गुल्मीको मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीनवटा गोरु चट्याङ लागेर मरेका छन्।



















