विराटनगर—भारतको जोगवनी बजारमा साम्प्रदायिक तनाव चर्किएपछि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाकामा कडाइ गरिएको छ। तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।
शुक्रबार बिहानदेखि दुई समुदायबीच विवाद चर्किएपछि जोगवनीमा झडप भएको जानकारी आएको र अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएपछि नाका बन्द गरिएको प्रजिअ यादवले बताए।
सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरिएको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएको र त्यसपछि बजरंग दलका युवाहरू समेत सहभागी भएपछि मुस्लिम र हिन्दू समुदायबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
झडपपछि लाठ्ठी र भालासहित दुवै समुदाय सडकमा उत्रिएपछि ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ। केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ। भारतीय अधिकारीहरूले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्।
तनाव बढेसँगै विराटनगरको रानी नाकाबाट नेपालीहरुलाई जोगवनी प्रवेशमा पूर्ण रोक लगाइएको छ। किनमेलका लागि गएका सयौं नेपालीहरू भाग्दै नेपाल फर्किएका छन् भने जोगवनीतर्फ जान लागेकाहरुलाई नाकामै रोकेको प्रहरीले जनाएको छ।
रानी नाकामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। ‘स्थिति साम्य भएपछि मात्र नाका खोलिन्छ,’ प्रजिअ यादवले बताए।



















