तमिलनाडु— तमिलनाडुका अभिनेता तथा तमिलगा वेत्त्री कझगमका अध्यक्ष विजयको चुनावी र्यालीमा भएको भगदडमा कम्तीमा २० जनाको ज्यान गएको आशंका गरिएको छ। मृत्यु हुनेमा बालबालिका समेत रहेको बताइएको छ। ठूलो भीडका कारण धेरै मानिस बेहोश भएपछि विजयले आफ्नो भाषण बीचमै रोक्दै शान्ति कायम गर्न आह्वान गरेका थिए।
घटनापछि तमिलनाडुका मन्त्रीहरू, वरिष्ठ प्रशासक र प्रहरी अधिकारीहरू तत्काल करुर पुगे। डिएमके मन्त्री सेन्थिल बालाजी र जिल्ला प्रमुख अधिकारी (कलेक्टर) अस्पताल पुगेका थिए।
मुख्यमन्त्री एम.के. स्टालिनले सामाजिक सञ्जालमार्फत घटना “चिन्ताजनक” भएको उल्लेख गर्दै प्रभावितलाई तुरुन्त उपचार दिन निर्देशन दिएका छन्। उनले स्वास्थ्य मन्त्री सुब्रमणियन, सेन्थिल बालाजी, जिल्ला अधिकारी तथा प्रहरी वरिष्ठहरूसँग सम्पर्क गरेको बताए। नजिकैको तिरुचिरापल्ली (त्रिची) बाट मन्त्री अनबिल महेशलाई समेत तत्काल सहयोगका लागि पठाइएको छ। स्टालिनले जनतालाई चिकित्सक र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेका छन्।
अस्पतालमा भीड बढेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न लाठीचार्जसम्म गर्नुपरेको थियो। अस्वस्थ भएकाहरूलाई पानी वितरण गरिएको र आपत्कालीन उपचारका लागि नजिकैका अस्पताल पठाइएको छ।
यसबीच, एक ९ वर्षीया बालिका हराएको समाचार आएपछि विजयले खुलेर प्रहरीसँग सहयोग गर्न आग्रह गरेका थिए र आफ्ना समर्थकलाई समेत बालिकाको खोजीमा जुट्न निर्देशन दिएका थिए।
विजय भाषण दिइरहेको बेला घटना भएको हो। उनले यस क्रममा पूर्व डिएमके मन्त्री सेन्थिल बालाजीलाई अप्रत्यक्ष रूपमा आलोचना गर्दै करुरमा विमानस्थल बनाउने आश्वासन दिएर पछि केन्द्र सरकारलाई जिम्मा दिने डिएमकेको व्यवहारप्रति व्यंग्य गरेका थिए।
विजयले आगामी छ महिनाभित्र तमिलनाडुको सत्ता समीकरण परिवर्तन हुने दाबी पनि गरे।
यो र्याली २०२६ को विधानसभा चुनावलाई लक्षित गर्दै विजयको राज्यव्यापी प्रचार यात्राको एक हिस्सा थियो। घटनापछि प्रशासन र आयोजकहरूले अवस्थालाई नियन्त्रणमा लिई कार्यक्रमलाई थप अवरोध बिना सकाएको जनाइएको छ। एजेन्सी



















