इलाम —साउदी अरबमा काम गर्दै आएका २४ वर्षीय खेमकुमार सिंजाली मगर दुई वर्षपछि परिवारसँग दशैं मनाउने खुसी लिएर नेपाल फर्किएका थिए। एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा २६ वर्षीया श्रीमती प्रेमिका तामाङ र पाँच वर्षीया छोरी प्रिन्सिकासँग रमाइलो गर्ने योजना बनाएर उनी उत्साहित थिए।
तर, दशैंको खुशी केही दिनमै शोकसागरमा परिणत भयो। दशैंको टीकापछि इलाम नगरपालिका–५ घोष गाउँस्थित ससुराली पुगेको परिवार शनिबार यात्रा नगर्ने पुरानो मान्यताका कारण आइतबार फर्कने तयारीमा थियो। तर बिहान करिब ४ बजे आएको भीषण पहिरोले उनीहरूको जीवन चकनाचुर बनाइदियो।
घरमै निदाएको बेला आएको पहिरोले पाँच वर्षीया प्रिन्सिकाको ज्यान लियो। छोरीको अनुहारसम्म हेर्न नपाएको बताउँदै आमा प्रेमिका तामाङ आँसु पुछ्दै भन्छिन्, “मेरो छोरीलाई जोगाएर मलाई किन लगिनस् भगवान्…”
चार दिनपछि साउदी फर्कने टिकट हातमै भए पनि अब त्यो यात्रा खेमकुमारका लागि अर्थहीन भइसकेको छ। उनले पीडायुक्त स्वरमा भने, “प्रकृतिसँग कसैको केही लाग्दोरहेनछ। अब विदेश फर्किनुभन्दा श्रीमतीको घाउमा मल्हमपट्टी लगाएर यतै केही गर्ने सोच्दैछु।”
दशैंको रमाइलो गर्ने सपनासहित घर फर्किएका खेमकुमार र प्रेमिकाको परिवार अहिले कहिल्यै नमेटिने प्राकृतिक घाउसँग बाँचेको छ।



















