काठमाडौं — अफगानिस्तानको राजधानी काबुलमा बिहीबार राति श्रृंखलाबद्ध विस्फोट भएका छन्। घटनास्थलबाट गोलीका आवाज पनि सुनिएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यम र बासिन्दाहरूका अनुसार, विस्फोटको कारण र सम्भावित क्षतिको अवस्था अहिलेसम्म स्पष्ट भएको छैन। भारतीय संचारमाध्यमहरूले पनि यस विषयमा रिपोर्ट गरेका छन्।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोमा आकाशमा उज्यालो चम्किएको देखिन्छ। यसका कारण अज्ञात विमानद्वारा हवाई हमला भएको अपुष्ट दाबीहरू पनि सार्वजनिक भएका छन्।

तालिबानको अन्तरिम प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको विषयमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। उनले भनेका छन्, “कसैले पनि चिन्ता लिनु पर्दैन। सबै कुरा सामान्य र ठीक छ।”

प्रवक्ताले अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी प्राप्त नभएको पनि उल्लेख गरेका छन्।

घटनास्थलमा विस्फोटसहित गोलीका आवाजहरू सुनिएको स्थानीय बासिन्दा र सञ्चारमाध्यमले जनाएको छ।