• गाेविन्द थापा ✍

आज म स्तब्ध भएको छु, अवाक भएको छु, म आश्चर्यचकित भएको छु । किनभने आज मैले न्यूयोर्क टाइम्सको नेपाल बारे एउटा रिपोर्ट पढें । तपाईंहरु कतिपयले पढिसक्नुभयो होला । अहिले नेपाल बारेको त्यो रिपोर्टले विश्वभरी तहल्का मच्चिएको छ । 

गत भदौ २४ गते नेपालमा विश्व नै चकित हुने गरी भीषण बर्बादी गरियो, अकल्पनीय आगजनी र तोडफोड गरियो । त्यो सबै काम नेपालका जेन्जी पुस्ताले गरेको आरोप लगाइयो । हामीले भन्दै आएका थियौं, हाम्रा जेन्जी भाइबहिनीहरुले त्यो काम गरेकै होइनन्, त्यो आगजनी गहिरो षडयन्त्र थियो, जेन्जीको नाममा अरुले नै गरेको आगजनी थियो । विश्वकै प्रतिष्ठित न्यूयोर्क टाइम्सले भदौ २४ गतेको आगजनी ठूलो षडयन्त्र र लामो तयारीको परिणाम भएको खुलासा गरेको छ । 

न्यूयोर्क टाइम्सको नेपाल बारेको त्यो रिपोर्टले अहिले विश्व समुदाय आश्चर्यचकित भएको छ । एउटा शान्त र सुन्दर देशलाई यसरी रातारात विघटनको संघारमा पुराउन कसरी सम्भव भयो भन्ने न्यूयोर्क टाइम्सले प्रश्न उठाएको छ । 

त्यो दिन देशभरी एकसाथ आगजनी गरियो । अघिल्लो दिनको गोलीकाण्डले त्यो दिन सारा नेपाली शोकमा थिए, भावविव्हल थिए तर त्यसकै आडमा आगजनी गरियो । नेपाल जलाएर खरानी बनाउन चाहने गिरोहले आम जनताको शोक र आक्रोशलाई भरपूर उपयोग गर्यो । न्यूयोर्क टाइम्सको रिपोर्टले यो कुराको खुलासा गरेको छ । 

न्यूयोर्क टाइम्सले धेरै गम्भीर प्रश्न उठाएको छ भने धेरै तथ्य उजागर गरेको छ । सिंहदरबार सहित विभिन्न ठूलाठूला सरकारी भवनमा आगो लगाउँदा सोडियम, म्याग्नेसियम लगायतका उच्च प्रज्वलनशील रसायनको प्रयोग गरिएको आशंका रिपोर्टमा गरिएको छ । जलेका ठाउँहरुको रासायनिक विष्लेशण गर्ने हो भने यो कुराको खुलासा हुने न्यूयोर्क टाइम्सले लेखेको छ । 

नेपालमा भएको आगजनी बारे न्यूयोर्क टाइम्सले सिङ्गापुरस्थित फायर साइन्स फोरेन्सिक संस्थाका प्रमुख सल्लाहकार केनेथ कीलाई सोधेको रहेछ । नेपालको आगजनीको फोटो र भिडियो हेरेपछि केनेथको भनाई छ– ‘भवनको आकार, आगोको तीव्रता र विनाशको स्तरले देखाउँछ— यो एक सङ्गठित षड्यन्त्र थियो ।’

न्यूयोर्क टाइम्स एकजना विशेषज्ञको मात्र भर परेको छैन । अर्का अग्नि विशेषज्ञलाई पनि सोधेको छ । एन्ड्रयू मुर एन्ड एसोसिएट्स संस्थाका वरिष्ठ अग्नि अनुसन्धानकर्ता रिचर्ड ह्यागरको भनाई पनि राखेको छ । ह्यागरको भनाई सुन्नुभयो भने तपाईंहरु छक्कै पर्नुहुन्छ । ह्यागरको भनाई म पढेरै सुनाउँछु है,  । 

यस्तो स्तरको आगजनी यति छोटो समयमा यति ठूला संरचनाहरूमा गर्न असम्भव छ । यसका लागि हप्तौँ वा महिनौँको तयारी चाहिन्छ ।

सुन्नुभयो होइन ह्यागरको विचार र?  भदौ २४ को जसरी आगजनी गरियो, त्यसका लागि महिनौंको तयारी चाहिने रहेछ । न्यूयोर्क टाइम्सले लेख्न छुटाएको एउटा विषयबारे एउटा प्रश्न छ, त्यसरी देशव्यापी आगजनी गर्न, आगजनीको वातावरण बनाउन कति मानिसलाई सुनियोजित रुपमा परिचालन गरिएको थियो होला ?  यो तथ्य खुल्न बाँकी छ । त्यस्ता सुनियोजित रुपमा परिचालित मानिसहरुले सोझासीधा जेन्जीलाई तथा जनतालाई पनि पछाडि लगाएको तथ्य हामीले बिर्सन हुन्न ।

सुनियोजित रुपमा र संगठित रुपमा आगो लगाइएको प्रष्ट छ तर यो सरकार त्यसको छानविन गर्न मान्दैन । आगो लगाउने अपराधीहरुलाई पक्रन मान्दैन । प्रहरीले पक्राउ गरेका अपराधीहरुलाई पनि गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौंका मेयर बालेन शाहको दवाब र धम्कीले रिहा गरिँदैछ । हजारौं बन्दूक र गोली लुटिएको छ, लुटिएका बन्दूक र गोली नखोज्नु भनेर सरकारले प्रहरीलाई आदेश दिन्छ । बन्दूक सहित पक्राउ परेकाहरुलाई पनि छाड्न आदेश दिन्छ । यस्तो सरकारले आगजनीको षडयन्त्र खुल्ने गरी अनुसन्धान गर्दैन । आगजनीको षडयन्त्रबारे पोल खुल्यो भने गिरोहको पोल खुल्छ । गिरोहको पोल खुलोस् भन्ने यो सरकार चाहँदैन । त्यसैले भदौ २४ गते जेन्जीको आन्दोलनमा घुसपैठ गरी नेपाललाई खरानी पार्ने उद्देश्यले गरिएको आगजनी यो सरकारले छानविन गर्दैन । छानविन गर्न ओमप्रकाश अर्याल, कुलमान घिसिङ, बालेन शाहहरुले नदिने ठोकुवा म गर्न सक्छु ।

न्यूयोर्क टाइम्सको रिपोर्ट कति सिरियस छ भने आगजनी गर्ने समूहका सदस्यहरुले सिफ्ट सिफ्टमा काम गरेको र उनीहरुले पैसा पाएको पनि खुलासा गरेको छ । मोटरसाइकलको पेट्रोल प्रयोग गरेर बम बनाइएको र त्यस्तो पेट्रोल वम अज्ञात व्यक्तिहरुले वितरण गरेको अति गम्भीर तथ्य पनि न्यूयोर्क टाइम्सले खुलासा गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट पढेर मेरो त मुटु नै हल्लियो, हाम्रो देश विरुद्ध कति भयानक षडयन्त्र गरिएछ भनेर मेरो आँखा रसायो । पढ्दापढ्दै आक्रोशमा मैले मुठ्ठि कसें ।

२४ गते ककसको घर जलाउने, कुनकुन सरकारी कार्यालय जलाउने, कुनकुन व्यापारिक प्रतिष्ठान जलाउने भनेर अघिल्लो दिन नै म्याप वितरण गरिएको र त्यसरी वितरण गरिएको म्याप अनुसार नै आगजनी गरिएको रिपोर्टमा उल्लेख छ । 

अरु बेला सिंहदरबारको माथिल्लो तलाको झ्यालहरु बन्द हुन्थ्यो तर त्यो दिन सबै झ्याल खुल्ला थियो । रासायनिक पदार्थ छरेर लगाइएको आगो भवनभरी राम्ररी फैलियोस् भनेर सबै झ्याल खोलिएको हुनसक्ने तथ्य  न्यूयोर्क टाइम्सले औंल्याएको छ ।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्ट पढेपछि मेरो मनमा अनेक प्रश्न उठेको छ, यिनीहरुको षडयन्त्रको एउटा चक्र पूरा भयो, अर्को चक्रको षडयन्त्र के गर्छन् होला रु चनाखो हुनुपर्ने भएको छ । यिनीहरुले नेपाल ध्वस्त पार्ने नियत राखेको प्रष्ट भयो, तर, यिनीहरुले चाहे जति नेपाल ध्वस्त भइसकेको छैन । नेपाललाई ध्वस्त पार्न आगामी दिनमा यिनीहरुले थप षडयन्त्र गर्ने मैले निश्चित देखेको छु । यिनीहरुले षडयन्त्र गर्दा हामीलाई नै अगाडि सारेर गर्छन् । भदौ २४ गते जेन्जीलाई अगाडि सारेर षडयन्त्र गरे, अब कसलाई अगाडि सारेर षडयन्त्र गर्छन् होला रु यो प्रश्नको जवाफ सारा नेपालीले खोज्नुपर्छ । 

न्युयोर्क टाइम्सको रिपोर्ट पढिसकेपछि मलाई भन्न मन लागेको छ, नेपाललाई दुःख दिन र नेपालले दुःख पाउन अझ धेरै बाँकी छ । देश विरुद्धको यस्तो षडयन्त्रलाई असफल पार्न नेपाललाई राष्ट्रिय शक्ति चाहिन्छ । राष्ट्रिय शक्ति निर्माणका लागि योगदान गर्न म सबैलाई अपिल गर्छु ।