काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीमा गरिएको सचिवालय विस्तारप्रति असन्तुष्टि जनाएकी छन्। उनले आफूहरूले खोजेको सुधार (रिफर्मेसन) कार्यकारी नेतृत्व परिवर्तन र पुनर्गठन हो, सचिवालय विस्तार होइन भनेर स्पष्ट धारणा राखेकी छन्।
तोसिमाले सामाजिक सञ्जालमार्फत लेख्दै पार्टीले महाधिवेशन सम्बन्धी निर्णय गर्नका लागि विस्तारित बैठक बोलाउने तयारी गरे पनि त्यसअघि नै सचिवालय विस्तार गरिएकोमा असन्तुष्टि जनाएकी हुन्।
उनले लेखेकी छन्, “महाधिवेशन कहिले गर्ने, के गर्ने भन्ने निर्णयका लागि दुई हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन — यो त कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।”
तोसिमाले पार्टीको कार्यशैली सच्याएर थप लोकतान्त्रिक बनाउनुपर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार, पार्टीका गतिविधिहरूमा संगठनका जरा–जराले अपनत्व महसुस गर्न सक्ने वातावरण बन्नु जरुरी छ।
उनले आउँदो विस्तारित बैठकमा पार्टी संगठनको व्यापक सहभागिता र मतदान अधिकार (voting rights) सुनिश्चित गर्नुपर्ने माग पनि गरेकी छन्।
भोटिङ अधिकार नदिने हो भने “देशभरिबाट चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको अर्थ छैन,” भन्ने उनको भनाइ छ।
रास्वपाले शनिबार चार जना नेताहरूलाई सचिवालय सदस्यमा मनोनीत गरेको थियो । भर्चुअल रूपमा बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यका रूपमा चयन गरेको थियो ।




















