काठमाडौं—हायात होटलको अनिश्चितकालिन सेवा बन्द र कर्मचारी प्रवेशमा रोक लगाइएको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर ध्यानाकर्षण व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनाल शनिबार बिहान होटल पुगेर व्यवस्थापनसँग भेटवार्ता गरे। उनले घटनाका कारण र पछिल्ला परिस्थितिबारे विस्तृत जानकारी लिएका छन्।
भेटका क्रममा मन्त्री खनालले सरकारले होटलको सुरक्षा सुनिश्चित गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, व्यवस्थापनलाई सेवा सञ्चालनमा ढुक्क रहन आग्रह गरे। उनले भने, “सरकार तपाईँहरूको साथमा छ। सुरक्षा व्यवस्था मिलाइनेछ, तपाईँहरू आत्मविश्वासका साथ सेवा दिनुहोस्।”
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, उक्त घटनाबारे थप छलफलका लागि आइतबार पुनः होटल व्यवस्थापनसँग बैठक बस्ने तयारी भइरहेको छ। छलफलपछि आवश्यक सरकारी पहल अघि बढाइने जनाइएको छ।



















