काठमाडौं — पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति जागरूकता बढेसँगै ‘टाइम-रिस्ट्रिक्टेड इटिङ’ अर्थात् सीमित समयमा खाने बानी अपनाउने मानिसहरूको संख्या बढ्दै गएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खाना खाने बानीले शरीरमा विभिन्न सकारात्मक प्रभाव पार्ने प्रमाणहरू बढ्दै गएका छन्।

विशेषज्ञहरूका अनुसार यसरी सीमित समयमा खाना खाँदा शरीरलाई आवश्यक मात्रामा ऊर्जा मिल्ने र पाचन प्रणालीलाई पर्याप्त विश्राम मिल्ने गर्दछ। उनीहरूका भनाइमा बेलुका ढिलो खानाले पाचन प्रणालीमा दबाब बढ्ने, अपच, ग्यास्ट्रिक र निद्रासम्बन्धी समस्या देखिने गर्छ।

“बेलुका ६ बजेपछि खाना नखाँदा शरीरलाई प्राकृतिक रूपमा आराम मिल्छ। यसले तौल घटाउने, ब्लड सुगर नियन्त्रणमा राख्ने र हृदयसम्बन्धी समस्या कम गर्ने अध्ययनहरूले देखाएका छन्,” पोषणविद् बताउछन ।

उनका अनुसार समयमै खाना खानाले शरीरको इन्सुलिन स्तर सन्तुलनमा रहन्छ, जसले मधुमेह हुने सम्भावना घटाउँछ। त्यस्तै, नियमित रूपमा यस्तो बानी अपनाउने व्यक्तिहरूमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा पनि घट्ने पाइन्छ।

विशेषज्ञहरूले यसलाई ‘लामो उपवासपछिको सेल सफाइ प्रक्रिया’ (Autophagy) सँग पनि जोड्ने गरेका छन्। यस अवधिमा शरीरले पुराना तथा क्षतिग्रस्त कोषहरू हटाएर नयाँ कोष उत्पादन गर्ने भएकाले उमेर ढिलो बढ्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो हुने उनीहरूको भनाइ छ।

तर चिकित्सकहरूले गर्भवती, सुत्केरी तथा दीर्घरोगीहरूले भने यस्तो अभ्यास अघि चिकित्सकको सल्लाह लिनुपर्ने चेतावनी दिएका छन्।

समग्रमा, बिहान ८ देखि बेलुका ६ बजेसम्म मात्र खाने बानीले शरीरलाई स्वस्थ राख्ने, ध्यान केन्द्रित गर्ने क्षमता बढाउने र राम्रो निद्रा ल्याउने भएकाले यो बानी नेपाली समाजमा पनि विस्तारै लोकप्रिय बन्दै गएको विज्ञहरूको भनाइ छ।