काठमाडौं काठमाडौंका खाजाघर, स्पा तथा गेस्टहाउसहरू अवैध गतिविधिको अखडाजस्तै बन्न थालेको तथ्य सार्वजनिक भएको छ। ती स्थानहरूमा नाबालिकालाई समेत प्रयोग गरिएको गम्भीर अपराधको पर्दाफास भएको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसहरूबाट आठ जना नाबालिकाको उद्धार गरेको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो। उद्धार गरिएकामध्ये एक नाबालिका गर्भवती रहेको खुलेको छ। स्रोतका अनुसार नाबालिकाले आफ्नो समस्या बताएपछि गरिएको स्वास्थ्य परीक्षणमा गर्भ रहेको पुष्टि भएको हो। गर्भवती नाबालिकासहित उद्धार गरिएका सबैलाई हाल ‘सेफ हाउस’मा राखिएको छ।

ब्युरोले खाजाघर, गेस्टहाउस तथा स्पामा नाबालिकालाई अवैध गतिविधिमा संलग्न गराइएको सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ठमेलस्थित गोल्डेन स्पा, चाबहिलको फायर लन्च एण्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट नाबालिकाहरूको उद्धार गरिएको हो।

यस घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीको दुधौली नगरपालिका–१२ की गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बुढानिलकण्ठ नगरपालिका–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद रहेका छन्।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।