इटहरी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी क्षेत्र नम्बर–२ बाट उठाएका उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ।
इटहरीस्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर लामो समयसम्म भाडा नतिरेको आरोप लगाउँदै इनरुवाका सत्यनारायण पण्डितले थापाविरुद्ध उजुरी दायर गरेका हुन्।
निवेदक पण्डितले निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १० (विविध) अन्तर्गत बुँदा ४२ अनुसार बेरुजु फछ्र्यौट गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै थापाको उम्मेदवारी खारेजीको माग गरेका छन्। उजुरीमा थापाको कम्पनीले जनता माध्यमिक विद्यालयलाई ७४ लाख १५० रुपैयाँ तिर्न बाँकी रहेको दाबी गरिएको छ।
थापा सञ्चालक रहेको सनमुन प्लाजा कम्पनी र जनता माविबीच २०७६ साउन १ देखि लागू हुने गरी करिब दुई कट्ठा जग्गा भाडामा लिने सम्झौता भएको थियो। सम्झौताअनुसार भवन कम्पनीले निर्माण गर्ने र जग्गा भाडावापत मासिक १ लाख ७ हजार ५ सय १ रुपैयाँ विद्यालयलाई बुझाउनुपर्ने उल्लेख छ।
कम्पनीले विद्यालयको जग्गामा दुई तले भवन निर्माण गरी सटरहरू भाडामा दिएको भए पनि विद्यालयलाई भने जम्मा साढे ७ लाख रुपैयाँ मात्र बुझाएको जनता माविको भनाइ छ। यसरी ७४ लाखभन्दा बढी रकम बक्यौता रहेको उजुरीमा उल्लेख गरिएको छ। यही विषयमा थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा विचाराधीन रहेको जनाइएको छ।
थापाले भने विद्यालयले दाबी गरेजति जग्गा आफूले नपाएको, कोभिड–१९ का कारण समयमा भवन निर्माण सम्पन्न हुन नसकेको भन्दै भाडा समायोजनका लागि विद्यालयदेखि वडा कार्यालयसम्म अनुरोध गरेको बताएका छन्। तर भाडा समायोजन गर्दा भ्रष्टाचार र मिलेमतोको आरोप लाग्ने सम्भावना देखिएकाले तत्कालीन व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले अस्वीकार गरेको जनाइएको छ।
भाडासम्बन्धी विवाद बढेपछि थापाले २०८० फागुनमा सनमुन प्लाजा कम्पनी अस्मिता खड्का, रमा खत्री र गणेशप्रसाद कोइरालाको नाममा सारिएको बताएका छन्। त्यसपछि आफू कम्पनीमा नरहेको र बक्यौता तिर्नुपर्ने दायित्व नरहेको उनको दाबी छ।
उनले कम्पनी बेचिसकेको भन्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन सच्याउन विद्यालयलाई पत्र लेखिदिन आग्रह गरे पनि त्यो विद्यालयको कार्यक्षेत्रभित्र नपर्ने भन्दै अस्वीकार गरिएको जनता माविका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिएका छन्।
विद्यालयका अनुसार थापाले करिब अढाइ वर्षसम्म पनि जम्मा साढे ७ लाख रुपैयाँ मात्र विद्यालयलाई बुझाएका थिए। पटक–पटक ताकेता गर्दा पनि भाडा नबुझाएपछि विद्यालयले कानुनी प्रक्रिया अघि बढाएको हो।
यसैबीच, थापाले आफू कम्पनीबाट बाहिरिएको दाबी गरे पनि आन्तरिक राजस्व कार्यालयमा दर्ता स्थायी लेखा नम्बरमा भने अझै पनि उनको नाम कायम रहेको निवेदक पण्डितले दाबी गरेका छन्।
बक्यौता रकम अत्यधिक भएपछि भवन नै विद्यालयको जिम्मा लगाउने विषयमा समेत छलफल भएको थियो। इटहरी वडा नम्बर–९ कार्यालयले गरेको मूल्याङ्कनअनुसार उक्त भवनको मूल्य ८८ लाख रुपैयाँ तोकिएको छ।
उम्मेदवार लालविक्रम थापाविरुद्ध दर्ता भएको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले भोलि सुनुवाइ गर्ने जनाएको छ।




















