जनकपुरधाम — आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा धनुषा–१ का उम्मेदवार किशोरी साह ‘कमल’ विकास र समृद्धिको नारासहित घरदैलो अभियानमा व्यस्त छन्। तर, उनीसँग सम्बन्धित निर्माण कम्पनीले वर्षौँअघि कबोल गरेका पूर्वाधार योजनाहरू भने अझै अलपत्र अवस्थामा रहेका छन्।

धनुषाको जलाद नदीमा निर्माणाधीन पुल सुरु भएको नौ वर्षभन्दा बढी भइसक्दा पनि पूरा हुन सकेको छैन। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित छिरेश्वरनाथ नगरपालिका–७ र ९ जोड्ने तथा मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत पर्ने उक्त पुल निर्माण सुरु गरिएको थियो।

पुल निर्माणको ठेक्का पप्पु–कमल जेभी निर्माण कम्पनीले पाएको थियो, जसका एक मालिक उम्मेदवार किशोरी साह ‘कमल’ नै रहेका थिए। उनी पूर्वमा जनमत पार्टीसँग आबद्ध थिए भने हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।

मिथिला मध्यमा परिक्रमा सडकसँग जोडिएको यो पुल नबन्दा इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत क्षेत्रका बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। वर्षायाममा खोला तर्दा ज्यान जोखिममा पर्ने अवस्था रहेको स्थानीय बताउँछन्।

सडक डिभिजन कार्यालय जनकपुरका अनुसार २०७४ असार १९ गते ठेक्का सम्झौता भई २०७६ पुस १९ गतेसम्म काम सक्ने लक्ष्य राखिएको थियो। १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल १२ करोड ३५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गर्ने सम्झौता भएको थियो। समयमै काम नसकिएपछि पटक–पटक म्याद थप गरिँदै २०८२ मसान्तसम्म पुर्‍याइएको छ।

कार्यालय प्रमुख सीडीई दारोगा प्रसादका अनुसार विगतमा ठेकेदार पक्षको लापरबाहीका कारण काम ढिला भएको देखिन्छ। हाल करिब ७५ प्रतिशत प्रगति भएको दाबी गरिए पनि दुईवटा स्पानको काम अझै पूरा भएको छैन।

निर्वाचनअघि किशोरी साह ‘कमल’ले आफ्नो नाममा रहेको कम्पनी अन्य व्यक्तिको नाममा स्थानान्तरण गरेको बताइन्छ। हाल पुल निर्माणको जिम्मेवारी उनका नातेदार सञ्जीव साहमार्फत सञ्चालन भइरहेको जनाइएको छ।

स्थानीय बासिन्दाले पुल निर्माण चाँडो सम्पन्न गर्न पटक–पटक दबाब कार्यक्रम गरेका छन्। यसअघि विभिन्न चरणमा सम्झौता र समयसीमा तोकिए पनि कार्यान्वयन नभएको भन्दै स्थानीय नेताहरूले असन्तुष्टि जनाएका छन्।

यस विषयमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका नेताहरू—जस्तै रघुवीर महासेठकिसान श्रेष्ठ—बाट समेत आश्वासन मिले पनि कामले गति लिन नसकेको स्थानीयको गुनासो छ। अन्नपुर्ण पोष्ट बाट