काठमाडौँ — चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको ८५ वर्षको उमेरमा निधन भएको छ।

शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्ने क्रममा लडेर उनको मृत्यु भएको बताइएको छ। गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी हुन्। उनका अनुसार पार्थिव शरीर अन्तिम दर्शनका लागि तुलसीपुर (बाहिनी गेट नजिकै) रहेको निजी निवास ‘दीपा–ललित निवास’ मा राखिएको छ।

स्वर्गीय ललितबहादुर वली केवल अभिभावक मात्र नभई दाङको साहित्यिक र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व थिए। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनले ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) जस्ता कृति प्रकाशित गरेका थिए।

उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी–भैलो, तीज र भजन समावेश छन्। उनी स्वयं पनि कुशल गायक थिए र छोरी कोमल वलीका केही गीतहरूमा मोडलिङ समेत गरेका थिए।

त्यसैगरी, उनी दाङका विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूमा सक्रिय थिए—जस्तै दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान र पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुर।

परिवारका अनुसार शारीरिक रूपमा गम्भीर रोग नभए पनि उमेरका कारण केही कमजोर थिए। केही समयअघि पत्नीको निधनपछि उनी मानसिक रूपमा पनि केही प्रभावित भएका थिए।