काठमाडौं— बुबाले सन्तानका लागि गर्ने संघर्ष र त्यागका उदाहरणहरू साहित्य र चलचित्रमा बारम्बार देखिन्छन्। विल स्मिथ अभिनित ‘द पर्स्युट अफ ह्याप्पिनेस’ फिल्ममा पनि बुबाको त्यस्तै संघर्षलाई चित्रण गरिएको छ।
यसैबीच, बङ्गलादेशमा घटेको एक घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले बुबाको साहस र सन्तानप्रतिको जिम्मेवारीलाई उजागर गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, एक व्यस्त रेल्वे स्टेशनमा खेलिरहेको बालक अचानक प्लेटफर्मबाट चिप्लिएर ट्र्याकमा खसेको थियो। सोही समयमा तीव्र गतिमा रेल आइरहेको देखिन्छ।
घटनास्थलमा उपस्थित मानिसहरूले चिच्याउँदै चेतावनी दिए पनि तत्काल बालकलाई उद्धार गर्ने अवस्था बनेन।
त्यसैबीच, बालकका बुबाले ट्र्याकमा हाम फालेर छोरालाई आफ्नो शरीरले छोपेका थिए। केही क्षणमै रेल उनीहरूमाथिबाट गुज्रिएको भिडियोमा देखिन्छ।
रेल गुज्रिएपछि दुवै सकुशल बाहिर निस्किएको बताइएको छ। उनीहरूलाई सामान्य बाहेक गम्भीर चोटपटक लागेको जानकारी छैन।
उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको छ। प्रयोगकर्ताहरूले बुबाको साहसको प्रशंसा गरेका छन् भने केहीले यस्ता घटनामा सावधानी र अभिभावकीय जिम्मेवारीको विषय उठाएका छन्।




















