दमक— झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासीहरूले सोमबार विरोध र्‍यालीसहित प्रदर्शन गरेका छन्। यो क्षेत्र प्रधानमन्त्री वालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत पर्छ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्तीमा जबर्जस्ती डोजर चलाएर उठीबास लगाइएको तथा दैनिक जीवन कष्टकर बनाइएको भन्दै भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा प्रदर्शन गरिएको हो।

कमल गाउँपालिकाका विभिन्न स्थानबाट सहभागी भूमिहीन, सुकुम्वासी र श्रमिकहरूले बसोबासको अधिकार सुनिश्चित गर्न, वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउन नहुने तथा राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनकारीहरूले गाउँपालिकाको कार्यालय पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। संगठनका अध्यक्ष दिपक गौतमका अनुसार सरकारको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराइएको हो।

र्‍यालीपछि आयोजित कोणसभामा वक्ताहरूले केही व्यक्तिको सार्वजनिक जग्गा अतिक्रमणलाई आधार बनाएर सम्पूर्ण सुकुम्वासी समुदायलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए। उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीन नागरिकको समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने बताए।

वक्ताहरूले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग दोहोर्‍याए। साथै, बल प्रयोगले समस्या समाधान नहुने भन्दै सरकारलाई सुकुम्वासीप्रति मानवोचित व्यवहार गर्न आग्रह गरेका छन्।