काठमाडौँ — काठमाडौँमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबारे राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले सरकारी दाबीभन्दा फरक तथ्य उजागर गरेको छ।

तत्कालीन प्रमुख जिल्ला अधिकारीले अनुसन्धान समितिसमक्ष दिएको बयानमा ‘घुँडा मुनि लाग्ने गरी रबरको गोली चलाउन प्रहरी प्रमुखमार्फत निर्देशन दिएको, जीवित गोली चलाउने आदेश नदिएको’ बताएका थिए। तर आयोगले संकलन गरेको फरेन्सिक साइन्स र बालिस्टिक रिपोर्टले अधिकांश मृतकको टाउको, घाँटी र छातीमा ५.५ मिमि धातुको गोली लागेको देखाएको छ। केही व्यक्तिलाई ७.७ मिमि धातुको गोली लागेको पाइएको छ भने एकजनाको मात्र रबर बुलेटका कारण मृत्यु भएको उल्लेख गरिएको छ।

आयोगका अनुसार प्रत्यक्षदर्शीको बयान, CCTV फुटेज तथा भिडियो विश्लेषणले संसद् भवनमा तोडफोडमा संलग्न व्यक्तिभन्दा सडकको अर्कोतर्फ रहेका सर्वसाधारणमाथि गोली लागेको संकेत गरेको छ।

अनुसन्धान प्रतिवेदनमा भीड नियन्त्रणका लागि खटिएका प्रहरीलाई आवश्यक आत्मसुरक्षाका सामग्री उपलब्ध नगराइनुलाई पनि सरकारको गम्भीर कमजोरीका रूपमा औंल्याइएको छ। आयोगले प्रहरीसँग युद्ध क्षेत्रमा प्रयोग हुने SLR र INSAS जस्ता हतियार रहेको तर प्रदर्शनकारीसँग कुटो, पिक र पेट्रोल बमजस्ता घरेलु हतियार मात्र रहेको उल्लेख गरेको छ।